शनिबार, वैशाख ६, २०८२

‘एनसेल फर विजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसम्वाद’ यही चैत २३ मा

नेपालखोज २०८१ चैत ३ गते २१:२६

काठमाडौं । बाह्रखरी मिडियाको आयोजनामा ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसम्वाद’ को आठौँ संस्करण यही चैत २३ गते काठमाडौंमा हुने भएको छ ।

बाह्रखरी मिडियाले आज यहाँ पत्रकार सम्मेलन गर्दै बाह्रखरी गल्फ तथा आर्थिक परिसम्वाद गोकर्ण फरेस्ट रिसोर्टमा हुने जानकारी गराएको हो ।

व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा सङ्लग्न गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी गराए ।

गल्फ प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब एक सय २० जना कर्पोरेट गल्फरको सहभागिता रहनेछ । भारत, अमेरिका, चीन, सिङ्गापुर, श्रीलङ्काका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालस्थित विदेशी नियोगका प्रतिनिधिसहित काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, नेपालगञ्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र सरकारी उच्च अधिकारीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

गल्फ प्रतियोगितामा ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।

प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड फर्म्याट’मा हुने आयोजकले जनाएको छ । कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने तय भएको आयोजकले जनाएको छ ।

सोही दिन हुुने ‘आर्थिक परिसम्वाद’मा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने जनाइएको छ । आर्थिक परिसम्वादमा नेपालको आर्थिक अवस्था, व्यापारिक क्षेत्रमा भइरहेका अवरोध, नेपालमा प्रविधि क्षेत्रको अवसर र चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकतालगायत विषयमा छलफल हुने आयोजकको भनाइ छ । रासस

प्रतिक्रिया