सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिएका छन् ।
समितिको आजको बैठकमा सांसदले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको बेरुजु फर्छ्यौट तथा सम्परीक्षण र उजुरी माथिको छानबिन प्रभावकारी हुन नसकेको बताए ।
सभापति ऋषिकेश पोखरेलले समितिलाई थप प्रभावकारी र नतिजामुखी बनाउन विभिन्न नौ वटा उपसमिति बनाएर काम गरिरहेको बताए । महालेखापरीक्षक कार्यालयको प्रतिवेदन माथिको छलफल र समितिमा परेका उजुरीलाई फर्छ्यौट गर्नका लागि उपसमिति गठन गरिएको र हालसम्म समितिबाट भए गरेका कामलाई समावेश गरी प्रतिवेदनको मस्यौदा तयार पारिएको उनको भनाइ छ । समितिमा हालसम्म परेका एक सय १४ वटा उजुरी माथि छानबिन हुन सकेको छैन ।
आजको बैठकमा समिति सदस्य जनार्दन शर्माले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमाथि छलफल हुन नसकेको बताए । त्यसैगरी समितिमा परेका उजुरीको प्राथमिकीकरण गरी चाँडै टुङ्गोमा पुर्याइनुपर्नेमा उनले जोड दिए ।
सांसद रामकृष्ण यादवले समितिका काम नतिजामुखी हुन नसकेको बताए । नियमित बैठक बस्न नसकेको, समितिले दिएका निर्देशन सम्बधित निकायबाट कार्यान्वयन नभएकोलगायतका विषय उनले उठाए ।
प्रतिक्रिया