नेदरल्याण्डका दम्पतीको नेपाल प्रेम

गण्डकी । एड क्रामर र आन्नी क्रामर नेपाललाई ‘दोस्रो घर’ ठान्छन् । नेदरल्याण्डका यी दम्पत्ति सन् १९७७ जुलाईमा पहिलो पटक नेपाल आएका थिए । तीन साना छोराछोरीसहित उनीहरूले यहाँ आठ वर्ष बिताए । सन् १९८५ मा स्वदेश फर्किए ।
‘नेपाल छोड्न मनले त मानिरहेको थिएन, तर परिवारप्रतिको उत्तरदायित्वले हामी आफ्नै देश फर्कियौँ’, ७७ वर्षीया आन्नीले भनिन्, ‘नेपाल हाम्रो दोस्रो घर हो, यहाँको सत्कार र मानिसको असल आनीबानी धेरै मनपर्छ ।’ नेपालमा हरेकपटक आउँदा नयाँ अनुभव र ऊर्जा प्राप्त हुने गरेको उनले सुनाइन् ।
उनासी वर्षका एड र आन्नी नेपाल आउँदा छोरी इङ्ग मार्गरिट सात महिनाकी थिइन् । छोरा मारत्येन चार वर्ष र एरिक तीन वर्षका थिए । अहिले क्रामर दम्पत्तिका सात नातिनातिना भइसकेका छन् । छोराछोरीका सबै परिवार नेदरल्याण्डमै बस्छन् । नेपालमा आठ वर्ष बस्दा उनीहरू यहाँको भाषा, संस्कृति र रहनसहनसँग घुलमिल भइसकेका थिए ।
‘ठूलो छोरा मारत्येन हामीभन्दा पनि राम्रो नेपाली बोल्न सक्छ’, आन्नीले भनिन्, ‘नेपालमा बस्दा छिमेकी बालबालिकासँग रमाउन र खेल्न खुब मन पराउँथे ।’ समय मिलेसम्म अहिले पनि नेपाल आउँदा छोराछोरीलाई लिएर आउने गरेको उनको भनाइ छ ।
सिभिल इञ्जिनीयर एड क्रामर युनाइटेड मिसनमार्फत बुटवलको तिनहुँ नदीमा विद्युत् आयोजना निर्माण क्रममा पहिलोपटक नेपाल आएका थिए । पेसाले शिक्षक रहनुभएकी श्रीमती आन्नी र छोराछोरीलाई उनले साथमै ल्याए । बुटवलमा केही समय बिताएर क्रामर परिवार स्न १९७८ को फेब्रुअरीमा बागलुङ आए । बागलुङको पहिलो साना जलविद्युत् केन्द्र, काठेखोलामा एडले काम गरे ।
विसं २०३९ मा बागलुङ नगरपालिका–३ मा निर्माण गरिएको एक सय ७५ किलोवाटको उक्त आयोजना अहिले भने रूग्ण अवस्थामा छ । उक्त आयोजना निर्माण क्रममा क्रामर दम्पती बालबच्चासहित दुई वर्ष तीन महिना बागलुङमा बसेका थिए ।
बागलुङमा पहिलो पटक बिजुली बल्दाको साक्षी उनीहरू थिए । त्यो बेला यातायात, विद्युत्लगायतका सुविधा बागलुङमा थिएनन् । कास्कीको नागडाँडाबाट हिँडेर तीन दिनमा बागलुङ आइपुगेको एडले सुनाए । ‘भाषा सिकाउने तीन जना, भरिया तीन जनासहित हामी हिँडेरै बागलुङ आएका थियौँ’, उनले भने, ‘पहिलो दिन पर्वतको एउटा गाउँमा र दोस्रो दिन मालढुङ्गा भन्ने स्थानमा बास बस्यौँ ।’ बागलुङ आइसकेपछि उनीहरू स्थानीय भीमसेन श्रेष्ठको घरमा बसे । छिमेकी रामकृष्ण भारी, विष्णुनारायण भारीलगायतले उनीहरूको बसाइँमा मद्दत गरे ।
‘त्यो बेला बिजुली थिएन, टेलिफोन थिएन, पानी लिन बाहिर जानुपथ्र्यो, दाउरामा खाना पकाउनुपथ्र्यो, धेरै गाह्रो थियो’, एडले भने, ‘सानो छोराछोरी भएकाले हामीलाई भान्छामा छिमेकी गाउँ तित्याङको बुकेनीका नगेन्द्र र शकुन्तलाले धेरै सहयोग गर्नुभयो ।’
केही दिनअघि बागलुङ आएका बखत क्रामर दम्पत्तिले बुकेनी पुगेर नगेन्द्रलाई भेटे र ४५ वर्षअघिका ती क्षणलाई सम्झे । जतिबेला नगेन्द्र मात्र १३ वर्षको हुनुहुन्थ्यो । एड ३४ र आन्नी ३२ वर्षको हुनुहुन्थ्यो । एउटै क्याम्पस पढेका एड र आन्नीको प्रेम विवाह भएको थियो ।
साना जलविद्युत् केन्द्रमा इञ्जिनीयरका रूपमा एडसँगै बुटवलदेखि आएका अन्य प्राविधिक र स्थानीयवासी खटिएका थिए । त्योबेला बागलुङलगायत देशका विभिन्न जलविद्युत् आयोजना निर्माण गरेका हिमो हाइड्रो इन्जिनीयरिङ प्रालिमामा एड महाप्रबन्धकसमेत भएर काम गरेका थिए ।
उनले स्याङ्जाको आँधीखोला, तातोपानी, डोटीलगायत ठाउँमा जलविद्युत् आयोजनामा काम गरे । सन् १९८५ मा नेदरल्याण्ड फर्केका क्रामर दम्पती १० वर्षपछि सन् १९९५ मा पुनः नेपाल आएका थिए । त्यसयता उनीहरूको नेपाल आउनेजाने क्रम चलि नै रह्यो ।
पानी व्यवस्थापन विज्ञसमेत रहनुभएका एड सन् २०१२ मा पुनः नेपाल आएर पाल्पाको मिसन अस्पतालमा फोहर पानी सफा गर्ने परियोजनामा काम गर्न थाले । ‘मिसन अस्पतालको ठूलो खानेपानी ट्याङ्कीको डिजाइन मैले नै गरेको हुँ, फोहर पानी सफा गराउने परियोजना अहिले पनि सञ्चालित छ, यसकै सिलसिलामा अहिले नेपाल आएका हौँ’, उनले भने ।
दुई महिनाअघि नेपाल आएका उनीहरू अर्को साता नेदरल्याण्ड फर्कदैँछन् । नेपाल रहँदा चार दिन बागलुङमा बिताएको एड्ले बताए । यसपालि एडले आफूसँगै ४५ वर्षअघि बागलुङ रहँदा खिचेका तस्बिर पनि साथै लिएर आएका थिए । त्योबेलाको बागलुङको समाज, संस्कृति, रहनसहन र जीवनशैली झल्काउने २९ थान तस्बिर नेपाल पत्रकार महासङ्घ, बागलुङलाई हस्तान्तरण गरे । अहिले पनि फोटोग्राफीमा उत्तिकै रूचि राख्ने एडले बागलुङका पुराना तस्बिरको प्रदर्शनी राख्ने इच्छा रहेको सुनाए ।
महासङ्घ, बागलुङका सचिव नारायण रिजालले प्रतिलिपि अधिकारको सुनिश्चिततासहित एडले खिचेका तस्बिर महासङ्घले सुरक्षित तबरले सङ्ग्रह गर्ने बताए । क्रामर दम्पती बागलुङ आएका बेला पहिले आफू बसेको घर र गाउँटोल पुगे । चिनेजानका व्यक्तिगसँग भेटघाट गरे । रासस
प्रतिक्रिया