सोमबार, वैशाख ८, २०८२

इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहाः म्याक्रोँ

नेपालखोज २०८१ चैत ६ गते १४:५३

पेरिस । सन् २०२२ को अक्टोबरदेखि इरानले हिरासतमा लिएका फ्रान्सेली नागरिक ओलिभर ग्रोन्डाउ रिहा भएको छ । उनको रिहाइको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पुष्टि गरेका छन् । म्याक्रोँले ग्रोन्डाउको रिहाइबारे प्ष्टि गर्दै भने, ३४ वर्षीय ग्रोन्डेउ ‘स्वतन्त्र भएका र आफ्ना प्रियजनसँग भेट भइसकेका’, म्याक्रोँले एक्समा जारी एक सन्देशमा उल्लेख गरेका छन् ।

उनले इरानमा रहेका अन्य नागरिकको रिहाइको पनि पहल भइरहेको बताए, इरानले हिरासतमा लिएका अन्य दुई फ्रान्सेली नागरिकको रिहाई सुनिश्चित गर्न हाम्रो प्रयासमा निरन्तरता दिइनेछ । कम हुने छैन। म्याक्रोँले करिब ९०० दिनको कठिन परीक्षापछि ग्रोन्डाउको रिहाइको अवस्थाबारे थप जानकारी भने दिएका छैन । इरानमा रहेका अन्य दुई फ्रान्सेली नागरिकमा शिक्षिका सेसिल कोहलर र उनका साथी ज्याक पेरिस रहेका छन् ।

उनीहरूलाई सन् २०२२ को मे महिनामा पक्राउ गरिएको थियो । उनीहरूमाथि मजदुर आन्दोलन चर्काउन खोजेको आरोप लगाइएको छ तर उनीहरूका परिवारले भने त्यसको खण्डन गरेका छन् । विदेशमन्त्री ज्याँ नोएल बारोटले ‘एक्स’ मा एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कने विमानभित्रको ग्रोन्डाउको तस्बिर पोस्ट गर्दै भनेका छन्, ’इरानमा ८८७ दिनसम्म बन्धक बनाइएका ग्रोन्डाउ आफ्नो परिवार, प्रियजन र आफ्नो देशसँग पुनर्मिलन भएका छन् ।

यो ठूलो राहत हो। सन् २०२२ को अक्टोबरमा दक्षिणी इरानको शिराजबाट ग्रोन्डाउलाई पक्राउ गरिएको थियो र उनलाई ’इरानविरुद्ध षडयन्त्र गरेको’ आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । उनको परिवारले आरोपहरू अस्वीकार गर्दै ग्रोन्डाउलाई फारसी कविताको एक भावुक प्रशंसकको रूपमा वर्णन गरेको छ । उनले विश्व भ्रमणको क्रममा पर्यटन भिसामा इरान गएको पारिवारिक स्रोतले बताएको छ । पश्चिमा मुलुकहरूले वर्षौंदेखि इरानले आफ्ना नागरिकलाई बन्धक बनाउने नीतिका आधारमा पक्राउ गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

फ्रान्सले इरानमा रहेका आफ्ना नागरिकलाई स्वेच्छाचारी ढङ्गबाट हिरासतमा राखिएका ‘सरकारी बन्धक’ को संज्ञा दिएको छ । उनीहरूमाथि लगाइएका सबै आरोप निराधार रहेको र आफ्ना नागरिक निर्दोष रहेको फ्रान्सको दावी छ । यस वर्षको सुरुसम्म, ग्रोन्डाउलाई उनको पहिलो नामले मात्र पहिचान गरिएको थियो तर उनको पूर्ण पहिचान जनवरीमा उनको परिवारले खुलासा गरेको थियो। त्यतिबेला फ्रान्सेली सञ्चारमाध्यमले प्रसारण गरेको अडियो सन्देशमा ग्रोन्डाउले आफू र इरानमा रहेका अन्य दुई फ्रान्सेली बन्दीहरू ‘हिरासत जीवनबाट थकित’ भएको र उनीहरूको शक्ति ‘समाप्त हुँदै गएको’ बताएका थिए ।

प्रतिक्रिया