मंगलबार, वैशाख ९, २०८२

कांग्रेस अपाङ्गता भएका व्यक्तिको मानव अधिकारप्रति संवेदनशील छ : सभापति देउवा

नेपालखोज २०८१ चैत ७ गते १९:४३

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिको महत्त्वपूर्ण योगदान रहेको बताए ।

‘नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो, २००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, वौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका बाबजुद कांग्रेसको आह्वान र नेतृत्वमा भएका सङ्घर्षमा साथ दिने सबैलाई ससम्मान सम्झना गर्न चाहन्छु’, उनले भने ।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट पारेको सभापति देउवाको भनाइ छ ।

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ पार्टी सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।

महाधिवेशनले सङ्घलाई संस्थागत रूपमा थप सशक्त बनाउँदै उनले समावेशी लोकतान्त्रिक अभियानलाई प्रवर्द्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ भन्दै शुभेच्छा व्यक्त गरे ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिको हक, अधिकारलाई थप सुनिश्चित गर्न यस राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले उठाएका सवाल र सुझावलाई कार्यान्वयन गराउँदै जानेतर्फ कांग्रेस प्रतिबद्ध रहेको जानकारी गराए ।

प्रतिक्रिया