‘औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राखेका छन् ।
आज यहाँ आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले औद्योगिक क्षेत्रको सुधार गर्दै उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावारण बनाउनु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताए ।
मन्त्री भण्डारीले आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा सम्भावना बोकेको उद्योग र व्यवसाय भएकाले यस क्षेत्रको विकासबिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गरे । समग्र औद्योगिक क्षेत्रको प्रवर्द्धन तथा नीतिगत सुधारमार्फत ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा सरकारले पहल गरिरहेको उनले बताए ।
सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने मार्गमा ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ जारी गरी कार्यान्वयनको चरणमा रहेको उल्लेख उनले गरे । स्वदेशी कच्चा पदार्थमा आधारित तथा आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगलाई अनिवार्य गर्नेगरी योजनाबद्ध रूपमा काम भइरहेको मन्त्री भण्डारीले बताए ।
प्रतिक्रिया