‘वर्तमान सरकार गठन भएपछि मुलुकमा सकारात्मक परिवर्तन देखा परेका छन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठन भएपछि मुलुकमा आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्न थालेका बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि मुलुकमा आर्थिक गतिविधि चलायमान हुँदै गएको उल्लेख गरे ।
महासचिव पोखरेलले भने, ‘जतिबेला मुलुकको आर्थिक अवस्था नाजुक बन्दछ र जनतामा निराशा फैलिन्छ । राज्यको शासन व्यवस्थामाथि सङ्कट आउँछ, त्यस्तो अवस्थामा प्रमुख पार्टी मिलेर जनताको निराशा अन्त्य गर्ने, अर्थतन्त्रलाई उकास्ने र मुलुकलाई सही मार्गमा हिँडाउने जिम्मेवारी रहन्छ । अहिले त्यही कर्तव्य पूरा गर्न दुई पार्टी मिलेका हुन् ।’
उनले पार्टीले यही चैत ११ गतेदेखि सञ्चालन गर्ने जनचेतनामूलक अभियानमा सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराइने बताए । महासङ्घका अध्यक्ष एनपी साँवाले सरकारले उद्योग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । आजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया