भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा
कमलकुमार बस्नेत र राजेन्द्र विष्ट

‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने, ‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् ।’
भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाए । रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुःखाइ निको पार्छ, शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ, उनले भने ।
उपभोक्ताले उनका कुरा चाख मानेर सुनिरहेका थिए । भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त, उनले थपे। सामान बिक्री गर्नुभन्दा बढी यसबारे जानकारी दिनु हो भन्ने उनलाई लाग्छ । सबैले यसको महत्व थाहा पाए, यति सामान बिक्री हुन समय लाग्दैन भन्ने उनले बुझ्नुभएको छ । त्यसैले उनी सबैलाई फोटो खिच्न र युट्युवमा भिडियो हेर्न आग्रह गर्दै हुनुहुन्थ्यो । आज नकिन्नेले घर गएर युट्युवमा हेरे भोलि किन्न आइहाल्छन्, त्यसैले सबैलाई यसबारे फोटो खिच्न भनिरहेको छु, उनले भने ।
अघिल्ला दुई वटा महोत्सवमा राम्रो व्यापार हुँदा हौसिएका उनले यसपाली १०२ वटा काठका भाँडा ल्याएको रहेछ । यसपटक उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको उनले बताए ।
पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २-३ दिनमै बिक्री भइसकेका थिए, यसपाली पनि सुरुआत राम्रो छ, उनले भने । उनले विजयसाल काठबाट बनेका आम्खोरा, गिलास र कप बनाउनुभएको छ । धेरै पैसा खर्च नगर्नेका लागि स–साना आकर्षक टुक्रा पनि बनाएको छ ।
कञ्चनपुर भीमदत्त नगरपालिका–१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहोराले २०५७ सालदेखि विजयसालका भाँडा बनाउन सुरु गरेको बताए । पहिले त धैरै भाँडा बनाउँथे, अहिले काठ पाइनै छाड्यो, कुनै समय वर्षमा १० हजारसम्म भाँडा बनाए, अहिले ३-४ सय पनि पुग्दैन, उनले भने ।
विजयसाललाई संरक्षित बोटको सूचीमा राखेपछि काठ पाउन गाह्रो भएको उनको भनाइ छ । उनका अनुसार यो काठ कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा बढी पाइन्छ । अहिले कञ्चनपुरका वनमा ढलेपडेका काठ बोलपत्रमार्फत खरिद गर्नुपर्छ, एक क्युफिटको रु तीन हजार तीन सय पर्ने तर पनि पाउन गाह्रो हुने उनले बताए ।
काठ पाउन छाडेपछि उनले पछिल्लो समय भीमदत्त, बेदकोट र बेलोरीका ३०० विरुवा वितरण गर्नुभएको छ । आफैँले पनि तीन वटा बोट रोपेको बताए । मैले रोपेको २० वर्ष जति भयो, २०-२२ फिट अग्लो भएको छ, यो काठका लागि मात्रै होइन, खोट र पातको पनि ओषधीय प्रयोग गर्ने चलन छ, उनले भने ।
महोत्सवमा विजयसालका काठबाट निर्मित भाँडामा जस्तै नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पामा उत्पादित ढाकाका विभिन्न पहिरन, सिन्की, नेपाली पोते, मस्यौराका साथै रुकुम रोल्पामा उत्पादित भीर मौरीको मह, थाङ्का चित्रकलामा पनि देहरादूनबासीले उत्तिकै चासो दिएका छन् । महोत्सवमा नेपाली हस्तकला धेरैले मन पराएका छन् ।
त्यसअवसरमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायतका गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन् । महोत्सवमा नेपालका ५० र भारतका १५० वटा स्टल छन् ।
श्रोत : आइएनएस – स्वतन्त्र समाचार
प्रतिक्रिया