बुधबार, वैशाख १०, २०८२

राजा महेन्द्रको सोवियत संघ भ्रमण

नेपालखोज २०८१ चैत ८ गते १६:१९

नेपालमा राजतन्त्र रहँदा राजाको महेन्द्रको सोवियत संघ जस्तो बिशाल तथा सम्पन्न राज्यका राष्ट्रपतिले नै भव्य स्वागत गरेको थियो । तर अचेल देशमा गणतन्त्र आएपछि भने नेपालको राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमणमा पनि कनिष्क कर्मचारी विमानस्थलमा स्वागतका लागि पठाउने गर्दछ ।

तत्कालिन सोवियत समाजवादी गणराज्य संघ (USSR) गठन भए पनि नेपाल र सोवियत संघ बिच कुटनीतिक सम्बन्ध स्थापित हुन सकेको थिएन । हुन त सन १८७५ मा सेंट पिटसवर्ग युनिवर्सिटीको तर्फबाट डा. इवान पाव्लोविच मिनायभ काठमाडौं आइपुगेका थिए । जङ्गबहादुरको शासनकालमा आइपुगेका प्रोफेसर नेपालको सामाजिक तथा सांस्कृतिक विषयमा सोध गर्न आइपुगेका थिए । तर राणाकालको विदेशी माथीको अत्यधिक प्रतिवन्धले गर्दा उनले काठमाडौ उपत्यका भन्दा बाहिर जान चाहेर पनि अनुमति पाएनन् ।

नेपालमा प्रजातन्त्र आए पछि नेपालको बैदेशिक नीतिमा पनि परिवर्तन भयो । बिभिन्न देशसंग कुटनैतिक सम्बन्ध स्थापनाको शुरुवात हुन थाल्यो । नेपाल र सोवियत संघ बिच पनि राजा महेन्द्रको शासनकालमा २०१३ असारमा कुटनैतिक सम्बन्ध स्थापना भयो । राजा महेन्द्रको २०१५ जेठ २३ गते भएको सोवियत संघको भ्रमणले दुइ देशको दौत्य सम्बन्ध अझ प्रगाढ गराउन मद्दत पुर्यायो । जसले गर्दा सोवियत संघले २०१६ असार १८ गते काठमाडौमा राजदूतावास स्थापना गराइ मिखाइल एलेक्सिविचलाई पहिलो राजदूतको रुपमा पठाए भने नेपालले बेलायतका लागी नेपाली राजदूत रामप्रसाद मानन्धरलाई सोवियत संघको लागी गैरआवासिय राजदूत नियुक्त गरेको थियो । करिव दुइ वर्ष पछि २०१८ साउन १२ गते राजदूतावासको स्थापना गराइ सोवियत संघको लागी पहिलो आवासिय राजदूतको रुपमा झरेन्द्र नारायण सिंहलाई पठाइयो ।

राजा महेन्द्रले आफ्नो भ्रमणको समय आफ्ना समकक्षी सोवियत संघका राष्ट्रपति मार्शल वोरोसिलोभलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । बृद्ध भइसकेका राष्ट्रपतिको नेपाल भ्रमण हुन सक्ने आकलन गरिएको थिएन । तर पनि केही पूर्व तैयारी भने गरिएको थियो । अन्तत बिभिन्न राष्ट्रको लामो यात्रामा निस्केका राष्ट्रपति वोरोसिलोभ १८ दिने भारत भ्रमण पश्चात २०१६ माघ २४ गते काठमाडौ आइपुगेका थिए । नेपाल भ्रमणमा आइपुग्दा राष्ट्रपति वोरोसिलोभ ७९ वर्ष पुगिसकेका थिए ।

साथमा राखिएको भिडियोमा राजा महेन्द्रको बि.सं. २०१५ जेठ २३ गते भएको तीन हप्ता लामो सोवियत संघ भ्रमणका समय विमानस्थलमा भएको भव्य स्वागत कार्यक्रम तथा राष्ट्रपति वोरोसिलोभले गरेको स्वागत देख्न सकिन्छ । यस भ्रमणको करिव २० महिना पछि सोवियत राष्ट्रपति बोरोसिलोभले नेपाल भ्रमण गर्नुभएको थियो । यस भ्रमण पछि नै नेपालमा सोवियत सहयोगको बृद्धि हुन थालेको थियो । कान्ति अस्पताल, खोपासी (पनौती) हाइड्रो, महेन्द्र राजमार्ग अन्तर्गत पथलैया ढल्केवार खण्ड, जनकपुर चुरोट कारखाना, कृषी सामग्री कम्पनी, बिरगञ्ज चिनी कारखाना तथा अन्य बिभिन्न सहयोग सोवियत संघबाट नेपाललाई प्राप्त भएको थियो ।

प्रतिक्रिया