मंगलबार, वैशाख ९, २०८२

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड

नेपालखोज २०८१ चैत ८ गते १९:५५

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस तनहुँ क्षेत्र नं २ ले आज दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले अहिलेको कानुनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

सरकारले हालै ल्याएको अध्यादेश सुशासन कायम गर्नका लागि भएको उनले प्रष्ट पारे । महामन्त्री शर्माले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताए । कांग्रेसको विधान र मुलुकको संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट उल्लेख गरेकाले बढीमा छ महिनासम्म मात्रै समय थप गर्न सकिने उनको भनाइ थियो ।

कांग्रेसको महाधिवेशन विसं २०७८ मा भएकाले विसं २०८४ को निर्वाचनपछि महाधिवेशन हुन्छ भन्ने नसोच्न उनले पार्टीको नेता, कार्यकर्तालाई आग्रह गरे । महामन्त्री शर्माले पार्टीको महाधिवेशनका सन्दर्भमा चैत महिनाभित्र क्रियाशील सदस्यताको नवीकरण गर्ने काम सम्पन्न भइसक्ने जानकारी दिए ।

प्रतिक्रिया