सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा रु दुई लाख आम्दानी गरेका हुन् ।
बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना सुन्तला अझै बोटमा राखेका छौँ, मैनाले भने, जुस खानका लागि दैनिक ५० जनासम्म पर्यटक यहाँ आए । बेमौसममा सुन्तलाको जुस सानो गिलासको रु दुई सय ५० र ठूलो गिलासको तीन सय ५० का दरले बिक्री हुने गरेको उनको भनाइ छ । आफ्नै बगैँचाको एक सय बोट र छिमेकीको बोटमा बाँकी रहेका सुन्तलालाई टिपेर बोक्रा छोडाइ उपकरणको सहायताले रस निकालेर बिक्री गर्दै आएको मैनाले बताए ।
उपकरणले गेडा र छोक्रालाई एकातर्फ फाल्छ भने रसलाई भाडामा खसाल्छ, उनले भने । मुस्ताङको घाँसाबाट पदयात्रा गरेर म्याग्दीको तातोपानी आउने क्रममा बेमैसमको सुन्तलाको ताजा र स्वादिलो जुस उपभोग गर्न घरापमा विश्राम गरेको काठमाडौंका जनार्दनदेव पन्तले बताए । जुस बनाउन थालेपछि साना दाना भएका कारण बिक्री नभएका सुन्तला खपत भएको प्रेमले बताए ।
खेर जाने सुन्तलाबाट जुस बनाएर अतिरिक्त आम्दानी भएको भन्दै अन्य क्षेत्रमा सुन्तला सकिए पनि यहाँका बगैँचामा साना दानाका चैत महिनासम्म रहने उनले जानकारी दिए । ठूला दाना माघमा टिप्ने घरापका किसानले साना दानालाई जुस बनाउन चैतसम्म राख्ने गरेका छन् । सुन्तला भण्डारण गर्ने चिस्यान गृह र प्रशोधन गरेर जुस बनाउने उपकरण तथा सीपमूलक तालिम आवश्यक परेको यहाँका किसान बताउँछन् । घरापमा २० परिवारको बसोबास छ ।
प्रतिक्रिया