बुधबार, वैशाख १०, २०८२

हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड

नेपालखोज २०८१ चैत ११ गते २०:३२

काठमाडौं । सांसदहरूले हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको ३९ औँ बैठकमा आज हुलाकी, बिपी र अरनिकोलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे भएको छलफलमा सांसदहरूले आवतजावतमा सहज बनाउँदै तराईको अर्थतन्त्र सुधारका लागि पनि हुलाकी सडक समयमा नै सम्पन्न गर्न सुझाव दिएका हुन् ।

बैठकमा सांसद मोहनबहादुर बस्नेतले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डमा रहेका ७० भन्दा बढी घरटहरा तथा मन्दिरका कारण समयमा काम अगाडि बढाउन चुनौती रहेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

सांसद रामकृष्ण यादवले ठूलो जनसङ्ख्या बसोबास गरिरहेको तराई(मधेशको महत्वपूर्ण हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह गरे । सो सडक राम्रो भएमा त्यहाँका नागरिकको जीवनस्तरमा सुधार हुने र त्यसले आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

सांसद अमनलाल मोदीले कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय गलत भएको भन्दै आपत्ति जनाए । सांसद मनिष झाले हुलाकी राजमार्ग ७९ वर्षअघि परिकल्पना गरिए पनि हालसम्म सम्पन्न हुन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

सांसद हरि ढकालले मुलुकका सडकहरू निर्माण तथा सुधारका लागि प्रशस्त बजेट नहुने तर अन्य अनावश्यक संरचना बनाउनका लागि राज्यको स्रोत खर्च भइरहेको भन्दै प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नसुझाव दिए । सांसद जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माणका लागि लामो समय लागेको भन्दै ऐन संशोधन गरेर भए पनि चाँडै सम्पन्न गर्नुपर्ने धारणा राखे ।

आव २०६६र०६७ मा सुरु भएको आयोजना आव २०८३र०८४ मा सम्पन्न गर्ने गरी म्याद थपिएको छ । आयोजनाको लागत करिब रु एक खर्ब दुई अर्ब रहेको त्यस अवसरमा जानकारी दिइयो । रासस

प्रतिक्रिया