सञ्चारमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गरे ।
जापानको ओसाकामा नेपाल–२०२५ वल्र्ड एक्सपो हुन लागेकामा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले नेपाली उत्पादन प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुका साथै द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पु¥याउने आधार सिर्जना हुने बताए । आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुँदैछ भन्ने उहाँले राजदूत मायदालाई जानकारी दिए । यस सन्र्दभमा, नेपालले जापानबाट थप विकास सहायता प्राप्त गर्ने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।
जापानका तत्कालीन विदेशमन्त्री कामीकावा योकोले गत वर्ष मे महिनामा गरेको नेपाल भ्रमण, सन् २०२२ नोभेम्बरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न जापानका विदेश राज्यमन्त्री ताकेइ शुनसुकेसहितको टोलीले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै मन्त्री गुरुङले यस प्रकारको अवलोकन तथा भ्रमणबाट नेपालको लोकतन्त्र मजबुत बनाउन र निर्वाचन निष्पक्ष बनाउन सहयोग पुगेको उनले उल्लेख गरे । समय–समयमा हुने द्विपक्षीय भ्रमण नेपाल र जापानबीचको सौहार्दपूर्ण सम्बन्धमा कोसेढुङ्गाको रुपमा रहिरहने मन्त्री गुरुङले बताए ।
नेपालमा जापानले गरेको आर्थिक, सामाजिक, विकासका सहयोगको चर्चा गर्दै मन्त्री गुरुङले भविष्यमा थप एक अर्काको सहकार्य प्रगाढ बनाउने धारणा राखे । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ ।
नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा भौतिक पूर्वाधार विकास, मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् । नेपालले पूर्वाधार विकास, औद्योगिक विकास, कृषि, जलविद्युत्लगायत क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको मन्त्री गुरुङले उल्लेख गखे ।
जापानमा नेपाली समुदायको उल्लेख्य उपस्थित हुनु नै द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको उनको भनाइ थियो । मन्त्री गुरुङले नवनियुक्त राजदूत मायदाको सफल कार्यकालको शुभकाना दिँदै आगामी दिनमा दुई मुलुकबीच आर्थिक सहयोग र सहकार्यका विषय एवं द्विपक्षीय व्यापार तथा लगानीका विषयलाई उच्च प्राथमिकता दिनुहुने छ भन्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया