शुक्रबार, वैशाख ५, २०८२

आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान

नेपालखोज २०८१ चैत १२ गते १५:०७

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मङ्गलबार फर्किएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा गरिएको ऐतिहासिक उडानका साथै नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका विटुबी, सेल्समिसनलगायतका प्रवर्द्धनात्मक कार्यक्रमले ठूलो आशा एवं विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको छ । पहिलो उडानका क्रममा त्यहाँका सरकारी निकायका प्रतिनिधि, चिनियाँ पर्यटन व्यवसायीसँग गरिएका छलफल एवं बिटुबी, सेल्स मिसन आदिले आगामी दिनमा अन्तरराष्ट्रिय उडानले निरन्तरता पाउने विश्वाससँगै उत्साह जगाएको अध्यक्ष पहारीले उल्लेख गरे ।

उडानलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा चिनियाँ प्रतिनिधिमण्डल सक्रियताका साथ लागेको पायौँ, उनले भने, दुई देशबीचको पर्यटकीय साझेदारी बढाउने कुरामा दुवै पक्षबीच महत्त्वपूर्ण छलफल एवं अन्तरक्रिया भएका छन् ।

चीनको सिचुवान प्रान्तमा मात्रै नौ करोड जनसङ्ख्या रहेकामा छेन्दु र छोङछिङबाट अधिकतम पर्यटकहरू घुम्न निस्कने गरेको उनले जानकारी गराए । कार्यक्रममा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएको बिटुबी र सेल्समिसन भव्यताका साथ सम्पन्न भएकोे बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

यो कार्यक्रमसँगै चीन केबल काठमाडौंबाट मात्र नभई पोखराबाट पनि जोडिएको छ, उनले भने, काठमाडौंबाहेकका गन्तव्यबाट चीन जोडिएको छ भन्ने सन्देशसँगै पोखरा धेरै चीनका सहरसँग मैत्रीपूर्ण सम्बन्ध भएको सहर भएको र यहाँबाट सिधै उडान सुरु भएको सन्देश मितेरी सहरहरूमा पुगेको छ ।

प्रतिक्रिया