कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग आज सिंहदरबारमा छलफल गर्दै उनले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने प्रतिबद्धता जनाए ।
याे अवसरमा मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वातावरण बन्न सकोस् भन्ने आफ्नो चाहाना रहेको बताए । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गर्ने बताए । मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एवं उपप्रमुखसँग पनि यस विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरिएको जानकारी दिए ।
मन्त्रालयमा आज भएको छलफलमा धादिङ जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा गोविन्दप्रसाद शर्मा, डा राजेन्द्रप्रसाद मिश्रलगायत सहभागी भए ।
प्रतिक्रिया