पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

तानसेन (पाल्पा) । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् ।
पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु अहिले चैते धान रोप्न व्यस्त हुन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवारलाई भने कुलोको पानीले सिञ्चित भएको पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ । पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको कामु बताए । ‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रै हुन्छ’, उनले भने, त्यसैले वर्षौंदेखि निरन्तर हामीले चैते धान रोप्दै आएका छौँ ।
चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्ने कामु बर्खे धानभन्दा चैते धान पर्याप्त उत्पादन हुने बताए । गोमाया जस्तै डढेटाका सोमबहादुर थापालाई पनि चैते धान रोप्ने चटारो छ । खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्नेदेखि धान रोप्न उनको परिवारलाई भ्याइनभ्याइ छ । उनले करिब दुई कट्ठा खेतमा चैते धान रोप्न थालेको बताए । फागुनमा राखेको धानको ब्याड हो ।
चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हुन्छ, थापाले भने, धान रोपेर सक्ने तयारीमा छौँ । बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट मनग्य आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको उनी बताए । उनीहरु जस्तै यहाँका डढेटा, लाबे, सातबिसे, खैरेनी, आठबिसे, कलौली, चेवा मङ्गला, सुखौरा लगायतका फाँटका प्रायः किसानलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन ।
महिला हरियो धानको बीउ काँढ्न र रोप्नमा व्यस्त देखिन्छन् भने पुरुष खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्र्याक्टरको प्रयोग गरी हिलो फेटेको देखिन्छ । सिँचाइ सुविधा भएकाले चैत र बर्खा गरी दुईपटक धान रोप्ने चलन रहेको छ । यहाँ फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौँ ।
यो बेला हाम्रा लागि व्यस्त समय हो, डढेटाका किसान मनु दिसुवाले भने, यहाँ पानीको स्रोतको समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको छ । यहाँका अधिकांश किसान वर्षाैंदेखि चैते धानमा आकर्षित हुँदै आएका छन् । पूर्वखोलावासीले घरको धान प्रयोग गर्न कात्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भित्र्याएर आम्दानी गर्न सक्छन् । आफूले जानेदेखि नै हिउँदे धान रोप्दै आएको कलौलीकी किसान अग्निश्वरा बाह्रघरेले बताए ।
अधिकांश ठाउँका युवा विदेश गइरहेका बेला डढेटाका केही युवा भने कृषिमै लागेका छन् । डढेटा फाँटमा आली गरा मिलाउँदै गरेको अवस्थामा युवा देखिन्थे । आली लगाउँदै गरेका शिव दिसुवाले पुस्तौँदेखि आमाबुबाले लगाउँदै आएको धानखेतीलाई आफूले पनि निरन्तरता दिँदै आएको बताए । असारमा हुँदै आएको धान रोपाइँ चैत महिनामा पनि देख्न पाउँदा त्यहाँ पुग्ने नयाँ पुस्ता भने दङ्ग छन् । कृषिमा आधुनिक प्रविधिसँगै बेमौसमी खेतीको प्रयोग बढ्दै गएको पाइन्छ । विशेष गरी यहाँका वडा नं २, ३ र ४ मा रहेका फाँटमा चैते धान रोपाइँ हुने गरेको गाउँपालिकाकी कृषि शाखा प्रमुख चाँदनी चौधरीले बताए ।
यहाँका खोलाबाट कुलो बनाएर कृषकले धान रोप्ने गरेको अध्यक्ष थापाले बताए । विगतमा स्थानीय जातको धान लगाउँदा कृषकले उत्पादन कम गरे पनि पछिल्लो समय उन्नतजातको बीउ लगाउन थालेपछि उत्पादनमा समेत वृद्धि भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उनले बाँझो जग्गाको सदुपयोग गर्ने गरी कृषकलाई पालिकाले प्रोत्साहनका कार्यक्रम समेत ल्याउने गरेको बताए ।
पाल्पाका अन्य फाँटहरुमा पनि यतिबेला चैते धान रोप्ने चटारो छ । फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने चलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रसस्त पानी भएका खोला नालाका फाँटमा चैते धान रोप्ने गर्छन् । जिल्लामा धानबाली लगाइने फाँटमध्ये ६२० हेक्टरमा चैते धानको खेती गरिन्छ भने ७०० कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
हिउँदे धानखेती गरेपछि चामल किन्न नपर्ने यहाँँका किसानको भनाइ छ । बेमौसमी कृषि खेती गर्ने प्रचलन बढे पनि हिउँदे धान रोपाइँ भने परम्परादेखि हुँदै आएको हो । हिउँदे धानको उत्पादनले धेरै परिवारलाई राहत मिलेको छ । बाह्रैमास सिँचाइको सुविधा विस्तार गर्न सकेमा पाल्पाका अन्य फाँटमा पनि हिउँदे धान रोप्न सकिने हावापानी रहेकाले सरकारले सिँचाइ सुविधा उपलब्ध गराउन ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया