थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

काठमाडौं । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जालाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विष्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विष्फोटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए । सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी छ । विगतका पाठ सिकेर आगामी दिनमा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने विषयमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ, उनले भने, जोखिममा रहेको बस्तीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा पनि बहस हुनुपर्छ ।
प्राधिकरणकै सहसचिव अर्जुनकुमार बमले थामेमा अझै पनि जोखिम कायमै रहेको भन्दै कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक तयारी आवश्यक रहेकामा जोड दिए । जोखिम न्यूनीकरणका लागि आगामी दिनमा पूर्वसूचना प्रणाली जडानका लागि हामी सम्बन्धित सरोकारवाला निकायसँग पनि समन्वय गर्नेछौँ, उनले भने, निजी आवास पुनःनिर्माणका कुनै कमी हुने छैन । यससँगै अध्ययनलाई पनि प्राथमिकता दिँदै पूर्वतयारीमा जुट्ने छौँ ।
प्रतिक्रिया