सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताएका छन् । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पारे ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखाैँ नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन’, अध्यक्ष दाहालले भने, ‘सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।’ गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिए ।
संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा देखिएको कमजोरी सच्याएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संशोधन अगावै राजनीतिक शक्तिबीच व्यापक छलफल आवश्यक रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताए ।
जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिँदै अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएको टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुर्मुराउने प्रयास गरिरहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताए ।
प्रतिक्रिया