कुनै पनि आन्दोलन र प्रदर्शनीबाट नागरिकलाई खतरामा नपार्न आग्रह

गण्डकी । जुनसुकै नामका आन्दोलन र प्रदर्शनीबाट आमनागरिकको जीवन खतरामा नपार्न सरोकार भएकाहरूले सबै पक्षलाई आग्रह गरेका छन् । आज पोखरामा समसामयिक राजनीतिक विषयका सम्बन्धमा प्रजातान्त्रिक विचार समाज नेपालद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी वक्ताले कुनै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पुर्याउने काम दण्डनीय भएको बताएका हुन् ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले धर्मलाई राजनीतिसँग जोड्न नहुने धारणा राखे । लोकतन्त्रले हिंसा गर नभनेकाले हिंसा दण्डनीय अपराध भएको बताउँदै उनले भने, राष्ट्रियताको प्रतिक राजा हुन सक्दैनन्, राजा खोपीमा हुँदा पनि राणाले देश जोगाएकै थिए । हरेक नेपालीमा राष्ट्रप्रतिको माया हुन्छ ।
समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले देशमा राजनीतिक अस्थिरता ल्याउने काम कहीँ कतैबाट हुन नहुने बताउँदै लोकतन्त्र समृद्ध मुलुक निर्माणका लागि उत्कृष्ट व्यवस्था भएको धारणा राखे । लोकतन्त्रमा सबै अट्न सक्ने र शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने अधिकार हुँदाहुँदै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पुर्याउने कार्य दण्डनीय भएको उनले बताए ।
समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरीराज लौडारीले असन्तुष्टिका विषयलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत पनि अगाडि बढ्न सकिने धारणा राख्दै प्रदर्शनका नाममा द्वन्द्व सृजना गरी नागरिकको जीवन खतरामा पार्न नमिल्ने बताए ।
महिला उपाध्यक्ष अनार बस्नेतले बिपीको सिद्धान्त र विचारलाई आमजनता माझ अझै प्रभावकारी रूपमा लैजानुपर्ने आवश्यकता औँल्याए । समाजका महासचिव डा वासुदेव भण्डारीले लोकतन्त्रमा नागरिक स्वतन्त्रता रहेको बताउँदै यसको विकल्प अरु हुन नसक्ने धारणा राखे ।
समाजका कास्की जिल्ला अध्यक्ष डा वीरबहादुर कार्कीले विभिन्न कार्यक्रमका माध्यमबाट बिपीको विचारलाई जनसमक्ष पुर्याउनुपर्नेमा जोड दिए । समाजका केन्द्रीय सदस्य कमलमोहन वाग्लेले लोकतन्त्रमा सुशासन दिन नसक्नुले जनतामा असन्तुष्टि पैदा भएको बताउँदै राजनीतिक दल जनताप्रति समर्पित भएर काम गर्नुपर्नेमा जोड दिए । संविधानको सवल र कमजोर पक्षका बारेमा सार्वजनिक रूपमा छलफल गर्न जरुरी भएको उनको भनाइ छ ।
समाजका पदाधिकारीलाई स्वागत
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष वाग्लेसहित पदाधिकारी तथा सदस्यलाई नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा स्वागत गरेको छ । समाजका अध्यक्ष वाग्ले, निवर्तमान अध्यक्ष डा केसीलागयत प्रतिनिधिमण्डललाई कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, महामन्त्री विष्णुप्रसाद लामिछाने, प्रवक्ता माधवप्रसाद बास्तोला, प्रचार विभाग उपप्रमुख शिरोमणि बराललगायतले स्वागत गरे ।
सो अवसरमा गण्डकी प्रदेश सभापति शर्मा, महामन्त्री लामिछाने, समाजका अध्यक्ष वाग्ले, निवर्तमान अध्यक्ष केसीलगायतले समसामायिक राजनीतिक परिस्थिति, बिपी चिन्तन, प्रजातान्त्रिक विचारलगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशले सञ्चालन गरेको बिपी स्मृति पुस्तकालयको अवलोकन गर्नुका साथै समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तनः नेतृत्व विशेष’ हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया