मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको हो ।
मुस्ताङको पवित्र धार्मिक सङ्गमस्थल कागबेनीमा जीवनको एकपटक दिवङ्गत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पीण्डदान र तर्पणसहित त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । यही कारण बर्सेनि वडादसैँ औँसी र चैतेदसैँ औँसी तिथिमा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्दछ । यसवर्षको चैतेदसैँ अघिको कृष्ण औँसी तिथि आज जरेकाले मुस्ताङमा हजारौँ श्रद्धालु भक्तजनले आफ्ना दिवङ्गत पितृ सम्झदै पूजाअर्चना गरी श्राद्ध गर्न कालिगण्डकी दोभानमा स्नान गरेर पितृको नाममा पीण्डदान र तर्पण दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसीलाई लक्षित गरी पछिल्लो २४ घण्टामा १२ हजार ४१२ जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले पछिल्लो २४ घण्टामा तीर्थालु सवार एक हजार ५८० सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएका जानकारी दिए । आज बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तीर्थालुहरूको श्राद्ध गर्ने कार्यक्रम सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे ।
यसअघि मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालु सवार सवारीसाधनको घुइँचोले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको थियो । जिल्ला प्रहरीको निर्देशनमा जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला ट्राफिक कार्यालयको टोलीले ट्राफिक व्यवस्थापन सहज गराएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीले यहाँ आएका दर्शनार्थीहरूले सकुशलपूर्वक दिवङ्गत पितृको नाममा श्राद्ध गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किदै गरेका जानकारी दिए ।
प्रतिक्रिया