आइतबार, वैशाख ७, २०८२

पाकिस्तानमा तालिबान विरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु

नेपालखोज २०८१ चैत १५ गते २१:३६

पेशावर । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले शनिबार एएफपीलाई जानकारी दिएको छ ।

अधिकारीले शुक्रबार राति पाकिस्तानी तालिबानलाई लक्षित गरी ‘तीन ड्रोन आक्रमणमा’ गरिएको बताए । हामीले आज बिहान मात्रै थाहा पायौं कि पीडितमा दुई महिला र तीन बालबालिका छन् ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।

एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए, स्रोतले भन्यो । घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।

प्रहरी अधिकारी मोहसिन अलीले एएफपीलाई बताएअनुसार पृथकतावादीहरूले मोटरसाइकलमा राखेको बम विस्फोटमा परी बलुचिस्तानको दक्षिणमा एक सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ ।

गत महिना आतङ्ककारीहरूले सयौं रेल यात्रीहरूलाई बन्धक बनाएका थिए र सेवामा रहेका दर्जनाँै सैनिकहरूको हत्या गरेका थिए । चिनियाँ पूर्वाधार रहेको संवेदनशील क्षेत्र ग्वादर जिल्लामा सेनाको गाडी गुडिरहेको बेला भएको विस्फोटमा तीन सैनिक र एक सर्वसाधारण घाइते भएका छन् ।

खैबर पख्तुनख्वा र बलुचिस्तानमा सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहले यस वर्षको सुरुदेखि गरेको आक्रमणमा परी अहिलेसम्म १९० भन्दा बढीको मृत्यु भइसकेको छ । तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० भनिने पाकिस्तानी तालिबानले मार्चको मध्यमा सुरक्षा बलविरुद्ध ‘वसन्त अभियान’ को घोषणा गरेको थियो ।

इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज’का अनुसार गत वर्ष पाकिस्तानमा करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष थियो, जहाँ आक्रमणमा परी एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो ।यो हिंसा अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमा क्षेत्रमा मात्र सीमित छ ।

प्रतिक्रिया