सोमबार, वैशाख ८, २०८२

संघीय संसदका दुवै सदनको बैठक बस्दै

नेपालखोज २०८१ चैत १६ गते ७:२७

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउसो १:१५ बजे बस्ने सचिवालयले जनाएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।

राष्ट्रिय सभाको लागि आजको कार्यसूची तय नगरिए पनि गत चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि बढ्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया