लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकांक्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गरे। नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विभिन्न खालका खेल भइरहेका छन् ।
यस व्यवस्थालाई संस्थागत गर्दै कार्यान्वयनका क्रममा देखिएका त्रुटी सच्याउने र समीक्षा गर्ने बेला भएको छ, उनले भने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ बलियो र संस्थागत लोकतन्त्र नै हो । यसको विकल्प एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था वा कुनै प्रकारको तानाशाही शासन हुन सक्दैन । अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, व्यवस्थामाथि यस किसिमका प्रश्न किन आए भनेर हामीले समीक्षा गर्नुपर्दछ । हामीले बहुदल ल्याएको ३५ वर्षभन्दा बढी समय भयो । ३५ वर्षमा अनेकौँ सरकार बदलिए तर सुशासन दिन सकेनौँ । गरिबी, बेराजगारी घटाउन सकेनौँ । आर्थिक विकास गरी समृद्धिको बाटोमा जाने, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा सुधार गर्न सरकार चुकेको छ ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्वराजाका नामबाट तीनकुनेमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गरे । उनले हिंसात्मक, दुःखदायी र निन्दयीय घटनाका रूपमा त्यसलाई लिइनुपर्ने बताए । क्लबका अध्यक्ष ऋषि धमलाले विद्यमान शासन व्यवस्थाका पक्षमा आफू र आफ्नो संस्था दृढ रहेको बताए ।
उनले पूर्वराजा पक्षधरहरूको आन्दोलनको निसानामा सञ्चार क्षेत्र परेकामा निन्दा गर्दै आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकलाई राज्यले सहिद घोषणा गर्नुपर्ने बताए । कार्यक्रममा क्लबका तर्फबाट पत्रकार रजकका परिवारलाई रु २५ हजार सहयोग उपलब्ध गराउने घोषणासमेत गरिएको थियो ।
प्रतिक्रिया