‘लोकतन्त्रको विकल्प छैन, तर शासकीय शैलीमा सुधार आवश्यक’

काठमाडौं । विद्यमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहे पनि शासनशैली र कार्यव्यवहारमा सुधार अत्यावश्यक रहेको धारणा विभिन्न राजनीतिक दलका नेताहरुले राखेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको घटनाप्रति खेद व्यक्त गरे । राजतन्त्रको सन्दर्भमा इतिहास अगाडि बढ्ने तर पछाडि नफर्कने उल्लेख गर्दै उनले भोक लाग्यो भन्दैमा विष पिउन नहुने स्पष्ट पारे ।
हालका राजनीतिक दलहरूप्रति जनतामा निराशा र असन्तोष रहेको स्वीकार्दै अध्यक्ष डा भट्टराईले भने, नेताहरू भ्रष्टाचारमा मुछिएको, आसेपासेहरूले घेरिएको देखेर तपाईंहरूलाई विरक्त लाग्न सक्छ । तर नागरिकको चिन्ताप्रति मेरो साथ र सहयोग रहनेछ ।
लोकतान्त्रिक व्यवस्थाका कमजोरी हटाउँदै त्यसलाई थप उन्नत बनाउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो । संविधानमा उल्लेखित शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायत केही व्यवस्थाहरू संशोधन गर्न आवश्यक रहेको अध्यक्ष डा भट्टराईले बताए । जनतामा फैलिएको निराशा चिर्न संविधानमा परिवर्तन जरुरी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुशासन र जनताका आवाज उठाउने सवालमा रिपोर्टर्स क्लबको अग्रणी भूमिका रहेको बताए । पछिल्लो समय पत्रकारिता पेसा विकृत बन्दै गएको उल्लेख गर्दै उनले समाजलाई सही दिशा दिनका लागि निष्पक्ष पत्रकारिता आवश्यक रहेको धारणा राख्नुभयो । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गरे ।
सांसद प्रभु साहले संसद्को प्रभावकारितामाथि प्रश्न उठाउँदै निर्वाचित प्रतिनिधिमाथि गैर–निर्वाचितको हालीमुहाली रहेको टिप्पणी गरे । उनले संसद् राजनीतिक दलहरूको नियन्त्रणमा रहेको आरोप लगाउँदै जनताले अझै पनि सुशासन र आर्थिक विकासको अनुभूति गर्न नसकेको तथा जनताको समस्या समाधान हुन नसकेको बताए ।
प्रतिक्रिया