तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

काठमाडाैं । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ तीन करोड २१ लाख रूपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।
लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख रूपैयाँ लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताए ।
खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताए । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।
प्रतिक्रिया