नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय छ: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय रहेको बताएका छन् ।
मुस्लिम समुदायको ईद–उल– फित्रका अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकमा सबै जाति समुदायबीच कायम रहेको सद्भाव, विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताए । इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मौलिक पर्व तथा संस्कृतिले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईदको शुभकामना दिँदै मेलमिलापका साथ खुसी साटासाट गर्ने यस पर्वले विविधतामा आधारित नेपालीको राष्ट्रिय एकता र आस्थागत सहिष्णुता प्रवर्द्धनमा सहयोग गर्ने बताए । उनले मुस्लिम समुदायले आपसमा भ्रातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इदले सामाजिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्ने उल्लेख गरे ।
प्रतिक्रिया