सोमबार, वैशाख ८, २०८२

‘बब्लु टी स्टाल’ जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

हिमाल लम्साल २०८१ चैत २० गते ९:३१

तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उनी कहिल्यै विचलित भएन ।

एक न एक दिन त वीरगञ्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित आफ्नो यात्रामा निरन्तर डटेर लागिरहनुभयो । जसको परिणामस्वरुप अहिले सम्भवतः वीरगञ्जकै सबैभन्दा धेरै चिया बिक्री गर्ने चर्चित ‘बब्लु टी स्टाल’का सञ्चालकका रुपमा नयाँ परिचय कमाएका छन् । सुरुआती दिनमा उनलाई चिया बेच्न सहज भने पक्कै थिएन । ३० वर्षअघि त शनिबार वीरगञ्जका सबैजसो बजार ठप्प जस्तै हुने गथ्र्याे । आफैँले एक प्याकेट दूधको चिया बनाएर केट्लीमा वीरगञ्जका टोलटोलमा बेच्न गएर ग्राहकलाई लोभ्याउनुपर्ने हुन्थ्यो, शर्माले विगत कोट्याउँदै भने, त्यतिबेला ग्राहकलाई आकर्षित गर्नकै लागि बिहान ४ बजेदेखि चियापसल खोलेर ग्राहकको चियाको तलतल मेट्ने काममा भने निरन्तर रुपमा लागिरहेँ । जसको कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु भुतुक्कै हुने गर्नुहुन्छ ।

शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीको भन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टाल’ सञ्चालन गर्दै आइरहेका छन् ।  शर्माले अहिले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्दै आइरहनुभएको छ । अहिले शर्माको चियापसलमा दैनिक ८०० देखि एक हजार कपको औसतमा चिया बिक्री हुने गर्छ । सुरु–सुरुमा त डेढ रुपैयाँ कप चिया पनि बेचियो, उनले भने, समयको अन्तरालसँगै अहिले चियाको मूल्य भने धेरै नै बढिसक्यो । अहिले पनि ‘बब्लु टी स्टल’मा चिया खाने ग्राहकको सङ्ख्यामा कुनै कमी आएको छैन । शर्मा नेपाल आफ्नो कर्मभूमि भएको बताउनुहुन्छ ।

“भारतको राजस्थान राज्य मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो, उनले विगत सम्झँदै भने, कामको सिलसिलामा ५५ वर्षअघि भारतको राजस्थानबाट वीरगञ्जमा आएको हुँ । सुरुआती चरणमा त वीरगञ्जको महावीर गल्लीमा विभिन्न पसलमा समेत काम गरेँ । त्यसबाट खासै सन्तुष्टि नलागेर चिया पसल खोलेको हुँ ।

सञ्चालक शर्मा आफैँ पनि वीरगञ्जको अन्य ठाउँको तुलनामा आफ्नो चियाको गुणस्तर र स्वाद राम्रो हुने गरेकाले मूल्य पनि महङ्गो रहेको स्वीकार्नुहुन्छ । सामान्यतया वीरगञ्जका बजारमा एक सानो कप चियाको मूल्य रु २० पर्ने गर्छ । तर, यहाँ भने एक कप मट्का चियाको मूल्य ३५ छ । गुणस्तरीय चियाका कारण ग्राहकले महङ्गो भयो भनेर गुनासो गरेको उनले सुन्नु परेको छैन ।

वीरगञ्जको अन्य ठाउँका चिया पसलको तुलनामा हाम्रो चिया महङ्गो नै छ । हाम्रो चिया ‘बढिया’ भएकाले पनि धेरै मूल्य परेको हो,उनले भने, हामीले सकेसम्म कृषकको घरबाट सोझै भैँसीको शुद्ध दूध ल्याएर चिया पकाउने गर्छाैं । किसानलाई दूधको उचित मूल्य दिएकै कारणले पनि चियाको मूल्य बढी पर्ने गरेको हो ।

उनले देहातबाट औसतमा रु १०० देखि ११० प्रतिलिटरमा भैँसीको दूध खरिद गर्दै आइरहेको दाबी गरे । उनले आफूले प्रयोग गर्ने चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउने गरेको बताए । हामीले चियापत्ती एक पटक मात्रै प्रयोग गर्ने गर्छौं । दोस्रो पटक त्यो चियापत्तीको प्रयोग गर्दैनौँ, उनले भने, आसामबाट ल्याएको चियापत्ती र देहातको भैँसीको शुद्ध दूधका कारणले पनि चियाको चुस्की राम्रो भएको होला कि !

शर्मा आफैँ वीरगञ्जमा मट्का चियाको सुरुआतकर्ता नभएको बताउनुहुन्छ । हामीले भन्दा पहिले अरूले नै मट्का चिया बेच्दै आइरहनुभएका थिए । तर अरूले मट्का चिया पसललाई निरन्तरता दिन सकेनन् । ट्कावाला चियाको स्वाद नै अर्कै हुन्छ । माटोका भाँडाको स्वादले पनि ग्राहक लोभिँदै आइरहनुभएको छ, उनले भने, हातले नै बनाएका मट्काको प्रयोग गर्ने भएकाले पनि स्वादमा ठूलो अर्थ राख्नेरैछ ।

उमेरले ७९ वसन्त पारे गरे पनि शर्माको जाँगरमा भने अहिलेसम्म पनि कमी भएको छैन । अहिले पनि बिहान ४ बजे उठेर चिया पसल खोल्न र बिहान साढे ६ बजेसम्म आफैँ चिया पकाएर ग्राहकलाई चिया पिलाउँदै आइरहनुभएको छ । शर्माका तीन छोरा छन्– सनोदकुमार शर्मा, योगेशकुमार शर्मा र बब्लु शर्मा । बब्लु र अर्का एक छोराले चियापसलमा सहयोग गर्दै आइरहेका छन्भने अर्काे छोरा जागिरे छन् ।

“बुबाले थालेको चियापसललाई हामीले निरन्तरता दिँदै आइरहेका छौँ,” कान्छा छोरा बब्लुले भन्नुभयो, “दैनिक औसतमा ३० हजारभन्दा बढी मूल्यको चियाको बिक्री हुने गर्दछ । स्वादिलो चिया बनाउने भएकाले एक लिटर दूधले औसतमा करिब १० कप चिया मात्रै बन्ने गर्छ ।”

‘बब्लु टी स्टाल’ मा एकाबिहानैदेखि बेलुकासम्म ग्राहकको भीड थेगिनसक्नु हुने गर्छ । यसका मुख्य ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार प्रशासकहरु र सर्वसाधारण उत्तिकै रहेका छन् । यसका अलावा वीरगञ्जमा घुम्न आएका चियापारखीले पनि खोजी–खोजी ‘बब्लु टी स्टाल’मा चिया पिउनका लागि आउने गर्छन् ।

गत चैत ८ गते शर्माकै चियापसलमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका माओवादी केन्द्रका शीर्षनेताहरु आएर पनि चिया पिउँदा निकै प्रफुल्लित भएको प्रतिक्रिया दिनुभयो । उहाँलाई सो अवसर भने जनतासँग माओवादी–हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान अन्तर्गतको कार्यक्रमले जुराइदिएको थियो । “नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा पक्कै पनि खुसीको महसुस गरिरहेका छौँ,” शर्माले भन्नुभयो, “उहाँहरु जस्तो शीर्षनेता हाम्रो झुपडीमा आएर चिया पिउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।”

शर्माले वीरगञ्जमा आउने उच्चपदस्थ कर्मचारी तथा राजनीतिज्ञहरुले आफूले पकाएको चिया पिउँदै आइरहे पनि को को आउनुभयो भनेर रेकर्ड राख्ने नगरेको अनुभव सुनाउनुभयो । शर्माले आफूले चिया बेचेर नै आफ्नो परिवारका सबै सदस्यलाई खुसीसाथ जीवनयापन गर्न सहज भएको बताउनुहुन्छ ।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया