आइतबार, वैशाख ७, २०८२

चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत

नेपालखोज २०८१ चैत २४ गते १०:५१

गोरखा । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए ।

गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए । गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो । त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रुपमा बिजुली बालेका थियौँ । पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो, उनले भने, भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली आए पनि नियमित थिएन । हाल मर्मत सम्पन्न भई नियमित रुपमा बिजुली बलेको एक हप्ता भयो ।

विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानीसमेत गर्न नपाइएको चुमनुब्री –६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ । अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानीपिसानी गर्न सहज भएको छ ।

गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताए ।

कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री–६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए । पहिरोले झन्डै रु एक करोडको क्षति पुर्याएको लामाको भनाइ छ ।

साउनको पहिरोले खासै क्षति पुर्याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौँ, उनले भने, भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो । त्यसपछि पूर्णरुपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक हप्ता भयो । लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली बालेको थियो ।कादुरी संस्था आफैले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको भनाइ छ ।

प्रतिक्रिया