शनिबार, वैशाख ६, २०८२

भरूवा बन्दुक सहित दुई जना पक्राउ

नेपालखोज २०८१ चैत २४ गते १७:२७

मोरङ । केराबारी गाउँपालिका–८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरूवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मणिराज र डिल्ली कुमारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रूपन्देहीको सैनामैना नगरपालिका–८ बासगढीस्थित सडकमा लु.१ ख ७१८२ बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भिम बहादुर ज्ञवालीको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गास्थित सडकमा ना.८ ख १८०९ नम्बरको बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया