आइतबार, वैशाख ७, २०८२

लोभलाग्दो च्याउखेती

नेपालखोज २०८१ चैत २५ गते १३:२९

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भएको उनले बताए । च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन, कृषक खत्रीले भने । गोब्रे च्याउको प्रतिकिलो ५०० र कन्येलाई २०० मा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट यस वर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख आम्दानी भएको बताए । 

कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाखको बिक्री गरे । च्याउबाहेक मौसमअनुसार काँक्रो, घिराैँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताए । 

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताए । खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेका छन् । उनले वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताए । अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनले बताए । 



प्रतिक्रिया