बुधबार, वैशाख ३, २०८२

मातृशिशु मृत्यृदर घटाउन मुलुक सफल

नेपालखोज २०८१ चैत २५ गते १४:५६

काठमाडौं । मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको छ । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा नेपाल सरकारको सफलता उल्लेख छ । नेपालमा प्रतिलाख जीवित जन्ममा १४२ जना आमाको मृत्यु हुने गरेको छ । सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो ।

राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो । प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो ।

सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ । मातृ तथा नवजात शिशुमृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएका प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ ।

सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ । सन् २०२३ मा दुई लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन् । विश्वव्यापी रूपमा मातृ मृत्युदर हरेक वर्ष झन्डै १५ प्रतिशतले घट्नुपर्छ तर हाल वार्षिक रुपमा यो करिब १.५ प्रतिशतले मात्र घटिरहेको प्रतिवदेनमा उल्लेख छ ।

प्रतिक्रिया