बिहीबार, वैशाख ४, २०८२

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल : पहिलो सेमिफाइलमा गण्डकी विजयी

नेपालखोज २०८१ चैत २६ गते ११:४४

भोजपुर । भोजपुर नगरपालिका-७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५-२१, २५-१९ र २५-१५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइल खेल सुदूरपश्चिम र कोशी प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकारअन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले रु २० लाख सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले एक लाख ७५ हजार रूपैयाँ, तेस्रोले ८० हजार रूपैयाँ र चौथो हुने टोलीले ४० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । उनका अनुसार पाँच विधामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद १० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया