आइतबार, वैशाख ७, २०८२

‘समृद्धि’उन्मुख काभ्रे–डाँडापारिको मुहार फेरियो

राजकुमार पराजुली २०८१ चैत २६ गते १६:१८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र महाभारत पर्वत श्रङ्खलापारी (डाँडापारी)को क्षेत्र ‘समृद्धि’उन्मुखतातर्फ लम्किएकोे छ । उक्त क्षेत्रलाई केही वर्षदेखि ‘दुर्गम’ भन्नसमेत छाडिन थालेको छ । कारण सडक, विद्युत, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवनको व्यवस्था । उक्त क्षेत्रमा सडक बाहेकका विकास पनि सडकले नै सम्भव दिलाएको छ ।

‘डाँडापारी’मा दुई गाउँपालिका महाभारत र खानीखोला पर्दछन् । सङ्घीय संरचना निर्माणअघि डाँडापारीमा दश गाउँ विकास समिति थिए । महाभारत गाउँपालिकामा नजिकको राजमार्गमार्फत सदरमुकाम जोड्ने पक्की सडक नै निर्माण भैसक्यो । उक्त गाउँपालिका विशेषगरी सडकको पहुँचले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल र मुख्य सहर बनेपा तथा पनौती डाँडापारीसँग नजिकिएका छन् । सडकले सामग्री ढुवानीमा सहजता आएपछि अपुग खाद्यान्हलगायत नुन, तेल र मरमसला किन्न घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता हाल दूर भैसक्यो । यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोडिएको छ ।

सडकको पहुँचका कारण यहाँका बासिन्दाले उत्पादन गरेका खाद्यान्हलगायत कृषिजन्य वस्तुको बिक्री गर्न नजिकको सहर जान थालिएको छ भने आवश्यक घरायसी सम्पूर्ण लत्ताकपडा–सामग्री गाउँमै पाउन थालिएको छ । विशेषतः सडक सुगमताले जिल्लाको विकट क्षेत्र मानिएको डाँडापारीका दुई गाउँपालिका महाभारत र खानीखोलाको मुहार फेरिदै गयो, यहाँका नागरिक दशकअघिको दुःख–पीडा–बाध्यता सम्झँदै हाल विकसित क्षेत्रको सुविधा उपभोग गरिरहेका पाइन्छन् ।

पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानी’सहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको मुहार फेरिएको हो । यसो हुनुमा स्थानीय तहको भूमिकालाई पनि विशेष मान्ने गरिएको छ । यहाँका गाउँपालिकाको बस्तीमा विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक निर्माणलाई प्रमुख मानिएको हो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी दोस्रो चरणको पक्की सडकखण्ड निर्माण अन्तिम चरणमा पुगको बताए । उनका अनुसार हाल बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माणमा लागिएको छ भने तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमि सडकका लागि करिब ९८ करोड विनियोजन भएकामा६० करोड ९७ लाखमा आगामी २०८२ साल कात्तिकमा सम्पन्न गर्नेगरी सम्झौता भई निर्माणाधीन चरणमा छ ।

यस्तै ‘एक घर एक खानेपानी धारा’ अभियानअन्तर्गत सबै नागरिकका घरघरमा खानेपानी पुर्याउनेकार्य निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । नागरिकको आर्थिक विकासको लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत तीन बर्षदेखि चालु आर्थिक बर्षसम्मा डेढ लाख कफीको बिरुवा रोपिएको अध्यक्ष जिम्बाले बताए । पक्की सडक सञ्जालसँग जोड्ने क्रममा रहेको डाँडापारीको क्षेत्रमा हाल पनि गर्भवती र सुत्केरीका बेलामा महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत स्थानीय तहको समन्वयमा हेलिकप्टरबाट उद्धार गर्ने कार्य गर्दै आइएको छ ।

महाभारत गाउँपालिकामा मात्र हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रे भइरहेको, तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको तथा देवीटार–गोकुले करिब सात किलोमिटर सडकखण्ड निर्माणको चरणमा रहेको छ । तर, निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताए । निर्माणका क्षेत्रमा हामीले ताकेता गरिरहेका छौँ, उनले भने ।

त्यसो त, विकट क्षेत्रमा सूचीकृत खोनीखोला गाउँपालिका–५ स्थित तालढुङ्गा लाई बाग्मती प्रदेशको नमूना सहर बनाउन थालिएको छ । यसका लागि पहिलो चरणमा बजार क्षेत्र र वरपरिको सडकलाई पक्की बनाउन थालिएको जनाइएको छ । हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको उक्त बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरको रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत रु दुई करोड विनियोजन गरिएको थियो । उक्त बजेटबाट कार्यालयमाफैत नै वोलपत्र आह्वान गरी सहर भित्रको सडक-बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकता अनुसार ड्रेनवाल निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया