लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१० मिलिग्राम, नगद २२ हजार ५ सय रूपैयाँ र मोबाइल २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बारबर्दिया नगरपालिका-४ कुसुम्वाघाटबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६४६ रूपैयाँ र मोबाइल २ थानसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका-७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर रहेका छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको ललितपुर महानगरपालिका-३ धोबीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१४ बाडेगाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-७ घर भएका २५ वर्षीय सुजन क्षेत्री र रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय दिपेश भण्डारी रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाराको फेटा गाउँपालिका-३ चौतारा नजिक घोडासाहनबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७८ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अंसारीलाई पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया