बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति

कटारी (उदयपुर) । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए ।
‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईँ का अनुसार पुल भाचिँदा दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । दुई करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन, उनले भने, प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो, उनले भने ,यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।
पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।
प्रतिक्रिया