‘सरकार रोजगारदाता र रोजगार चाहानेलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा रोजगारी प्रवद्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्वीस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेटअफ’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा आज यहाँ उनले रोजगारदाताको आवश्यकताअनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुनुपरेको बताए ।
मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहानेलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताए ।
मन्त्री भण्डारीले प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको भन्दै आमजनतामा सहजै सेवा पहुँच बढाउने गरी रोजगार प्रणालीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया