तीनकुने घटनाको अनुसन्धान जारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उनले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाइँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताए ।
सोही प्रदर्शनमा घाइते भएकाको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिए । गृहमन्त्री लेखकले तीन कुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्यासमेत गरे ।
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा जोड दिए । त्यसैले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।
प्रतिक्रिया