शनिबार, वैशाख ६, २०८२

बागमती प्रदेश नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा

नेपालखोज २०८१ चैत २९ गते ७:३९

त्रिशूली (नुवाकोट) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताए ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा शुक्रबारदेखि सुरू भएको ‘जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नदी र खोलाको बहावको कारण क्षति पुगेका तथा बगर बनेका भूमिको संरक्षण गरेर किसानलाई न्याय दिन लागिएको बताए ।

बागमती प्रदेशभित्रका केही जिल्लामा नमूना योजनाको रूपमा यो वर्षदेखि सुरू गर्न लागिएको यस योजनाको लागि रू ३० करोड बजेट उपलब्ध गराइएको उनले जानकारी दिए ।

खोला र नदी किनारको जग्गा उर्भरयुक्त भूमि हुने र उक्त स्थानमा सिँचाइ सहितको सरल सुविधाले कृषि उब्जनी वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रको विकास, पूर्वाधारको निर्माण र नयाँ खेलाडी उत्पादनको लागि अवसरको रूपमा लिनुपर्ने बताए ।

नुवाकोटका बाह्र स्थानीयतहको सहभागितामा ऐतिहासिक पर्यटकीय क्षेत्र घ्याङस्वारमा शुक्रबारदेखि सुरू भएको प्रतियोगिता आगामी सोमबारसम्म चल्ने आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । रासस

प्रतिक्रिया