‘देश स्थायित्व, विकास र सुशासनको बाटोमा छ, राजतन्त्र ब्युँतने भ्रमबाट मुक्त होऔँ’

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताए ।
नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएका’ टिप्पणी गर ।
प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताए । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो ।
भूमिहीन सुकुमबासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको बताए । फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहोर्याउँदै एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुँदैन भने ।
कोसी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रियताका साथ परिचालित हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए ।
एमालेले आगामी लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ गएर राजतन्त्र पालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे ।
प्रतिक्रिया