हुनमान जन्मोत्सव दुई समुदायबीच झडप हुँदा प्रहरी र सशस्त्र प्रहरी घाइते, नारायणी अस्पतालमा उपचार हुँदै

वीरगन्ज (पर्सा) । हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।
दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए । ‘मेरो त दाहिने हातमा चोट लागेको छ’, उनले भने, ‘मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन ।
अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।’ वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते भएका छन् ।
पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए । प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२ः०० बजेसम्मको अवधिमा कफ्र्यु आदेश जारी गरेको छ । रासस
प्रतिक्रिया