आइतबार, वैशाख ७, २०८२

छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस

अनिल यादव २०८१ चैत ३० गते १५:५०

नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ ।

तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि कायमै छ, तर अहिले भने क्रमशः त्यो प्रचलन हट्दै गएको छ । त्यसको उदाहरण यही क्याम्पसमा अध्ययन गर्न आउने विवाहित छात्रालाई लिन सकिन्छ । 

पाल्ही क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरु सबैजसो स्थानीय ग्रामीण भेगका छन् । विद्यार्थी सङ्ख्या हेर्दा उक्त क्याम्पस ग्रामीण क्षेत्रका छोरीबुहारीले चलेकोभन्दा फरक पर्दैन । क्याम्पस प्रशासनका अनुसार, क्याम्पसमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या ७४ प्रतिशत छ । यस क्याम्पसमा कूल विद्यार्थी सङ्ख्या ५०१ छ । जसमा छात्राको सङ्ख्या ३७० रहेको क्याम्पसका सहायक प्राध्यापक सञ्जीव कोइरालाले जानकारी दिए । जिल्लाकै पहिलो क्याम्पसका रुपमा रहेको यो क्याम्पस २०४६ साल वैशाख १२ गतेदेखि सञ्चालनमा आएको हो ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको हुनाले यो क्याम्पस अध्ययन गर्नेहरु अधिकांश मधेसका छोरीबुहारी छन् । रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सराबल गाउँपालिकाबाट विद्यार्थीहरु अध्ययनका लागि यहाँ पुग्ने गरेका छन् । आर्थिक अवस्था राम्रो भएकाहरु भैरहवा, बुटवल र काठमाडौँ अध्ययनका लागि जाने गरेका छन् । तर कम आयस्रोत भएका र विवाहित तथा मधेसी समुदायका अधिकांश छोरीको उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थाका रुपमा यो क्याम्पस रहेको छ ।

पछिल्लो समय मधेसी समुदायमा पनि शिक्षाको चेतना बढेपछि छोरीबुहारीहरु उच्च शिक्षाका लागि आउने गरेको सहायक प्राध्यापक कोइरालाको बुझाइ छ । घरमा ससाना नानीबाबुलाई छाडेर उनीहरु बिहानको समयमा क्याम्पस आउने गरेका हुन् । बिहानी कक्षा भएकाले पनि उनीहरुको पढ्ने इच्छा पूरा हुनमा मद्दत गरेको छ ।

प्रतिक्रिया