बुधबार, वैशाख ३, २०८२

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

नेपालखोज २०८१ चैत ३० गते १७:०४

दमौली (तनहुँ) । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको बताए । यसअघि दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पछिल्लो दुई दिनयता आगन्तुकको सङ्ख्या बढेर दैनिक दुई हजार पुगेको उनले जानकारी दिए । दुई हजार जनाले बास बस्नेसक्ने क्षमता यहाँका होटलको छ । तर, पछिल्लो दुई दिनदेखि यहाँका सबै होटल भरिभराउ भएका छन्, उनले भने ।

नयाँ वर्ष लक्षित पर्यटकको आगमन दोब्बरले बढेको जनाउँदै अध्यक्ष प्रधानले अहिले यहाँका होटलले १५ प्रतिशत छुटको व्यवस्था गरेका जानकारी दिए । उनले भने, नयाँ वर्षमा यहाँ आयोजना गरिएको स्थानीय परिकारका खानाको महोत्सवले पनि पर्यटकको आगमन बढाएको हो । शनिबारदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ । अन्य समयमा घुमेर फर्किने पर्यटक बढी हुने गरेकामा नयाँ वर्षमा बास बस्न आउनेको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।

अध्यक्ष प्रधानका अनुसार नयाँ वर्षलाई लक्षितगरी बन्दीपुरमा दुई हजार बढी पर्यटक आइपुगेका छन् । यहाँ आएकामध्ये ८० प्रतिशत बास बसेका छन् । यस वर्ष यहाँ दुई लाख १० हजार पर्यटक आएकामध्ये ६० बाह्य र एक लाख ५० हजार आन्तरिक पर्यटक रहेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ । बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमनसँगै आन्तरिक पाहुँनाको आगमन बढेको बताए ।

उनले भने, होमस्टेमा पारिवारिक हिसाबले बस्न पाइने भएकाले पनि आन्तरिक पाहुना होमस्टेमा बस्न रुचाउँछन् । यहाँ होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालित छन् । यहाँ शनिबारदेखि स्थानीय जातका (रैथाने) खाना महोत्सव सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्दै हुन् । महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले बताए । उनले भने, भ्रमण वर्ष घोषणा गरेर हामी यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका छौँ । सन् २०२५ भरी यहाँ विविध कार्यक्रम आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्नेछौँ ।

महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाँचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए । उनका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।

प्रतिक्रिया