शनिबार, वैशाख ६, २०८२

बाराही देवीको तिप्वा जात्रा सम्पन्न

नेपालखोज २०८२ वैशाख १ गते १७:१४

भादगाउँ । नौ दिन आठ रात मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्राअन्तर्गत भक्तपुर बाराही देवीको तिप्वा जात्रा आज सम्पन्न भएको छ ।

बिस्का जात्राको चौथो दिनअर्थात् चैतको मसान्तको साँझ भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसिद्यःउठाएपछि अष्टमात्रिकाका शक्तिशाली देवी बाराहीको तिंप्वा जात्रा गर्ने परम्परा छ । चैत मसान्तको दिनमा यसिंद्यः नउठेपछि आज दिउँसो उठाइसकेपछि जात्रा गरी सम्पन्न गरेको हो । भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मूर्तिलाई खटमा राखी तिंप्वा जात्रा गरिन्छ ।

प्यागोडाशैलीमा निर्मित बाराहीको खटलाई सिँगार पटार गरी तयार गरी बाराहीलाई विराजमान गराइन्छ । जात्रामा सातसय टोलका स–साना बालबालिकादेखि वृद्धवृद्धा चिलाख बालेरजात्रामा सहभागी हुने गर्दछ । जात्रामा हजारौँ भक्तालु धुप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्दछन् ।

बाराही पीठ नजिक रहेको हनुमन्ते खोला तर्दा खोलाको पानी छ्यापी बाराहीलाई पीठ पु¥याइन्छ । पीठमा पुगेपछि आचाजुहरुद्वारा बाराहीको तान्त्रिक पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि स्थानीय सातसय टोलको बलि पूजा थापेर आज यसिंद्य ढालिसके पछि बाराहीलाई पुज्ने सातसय टोलमा परिक्रमा गरी पूजा गरिन्छ । पूजामा बाराहीलाई प्रसादको रुपमा चतामरी छरिदिने परम्परा छ ।

सबै टोलको परिक्रमा पछि देवगृहमा लगिन्छ । त्यसैगरी यसिंद्यः उठाइसकेपछि मनाइने अष्टमात्रिका अर्को शक्तिशाली देवी इन्द्रायणीको त्वारिवा जात्रा पनि आज दिउँसो सम्पन्न गरेको छ । इन्द्रायणी देवीको द्योः छेमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने परम्परा छ ।

जात्रा गर्दा इन्द्रायणी देवीको इलाकाका बासिन्दाले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देवबत्ती बालेर जात्रामा सहभागी हुने गर्दछ । स्थानीय दाफा, भजनखलको भजन र बाजाहरुको गुञ्जायमान जात्रालाई थप रौनक बनाउँदछ ।

प्रतिक्रिया