मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रुपमा अशक्त, अपाङ्गता र हिँडडूल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई वितरण गर्ने गरी सामाजिक विकास कार्यालय मुस्ताङले आज अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको केन्द्रमा जिल्लाका पाँचै वटा गाउँपालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए । सामाजिक विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शारीरिक रुपमा हिँड्डुल गर्न नसक्ने व्यक्तिहरुको सुविधाका लागि चार प्रकारका अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख सापकोटाले बताए ।
सामाजिक विकास कार्यालयले पाँचै स्थानीय तहलाई फोल्डिङ लौरी, इअर सेट, ह्वील चेयर र चर्पी चेयर हस्तान्तरण गरेको जनाएको छ । कार्यालयबाट घरपझोङले फोल्डिङ लौरी ३७ थान, ‘इअर सेट’ सात थान, ह्वील चियर पाँच थान र चर्पी चियर आठ थान प्राप्त गरेको छ । थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ ।
बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, ईअर सेट तीन थान, ह्वील चियर दुई र चर्पी चियर दुई थान प्राप्त गरेको छ । यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्वील चियर दुई थान र चर्पी चियर दुई थान प्राप्त गरेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वील चियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको हो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ र सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटालगायतले संयुक्त रुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया