लालु-लैफु सडक निर्माण अन्तिम चरणमा

मान्म (कालीकोट) । जिल्लाको लाल(लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।
निर्माण व्यवसायीको ढिलासुस्ती, पर्याप्त बजेट अभाव हुँदा अछाम, कालीकोट, बाजुरा हुँदै मुगु र हुम्ला जोड्ने लक्ष्यका साथ निर्माण थालिएको राजमार्गले अन्तिम रूप लिएको रास्कोट नगरपालिका(५ का स्थानीय जगतबहादुर शाहीले बताए ।
कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्थामा लालु-लैफु सडकको रास्कोट(पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय सदुपयोग भई करिब डेढ घण्टामा झरेको उनले जानकारी दिए ।
सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालु(लैफु राजमार्गअन्तर्गत ४५ किलोमिटर खण्डमा निर्माण र नालासहित ग्राभेलको काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले बताए ।
सोमध्ये रास्कोट-५ बाट पचालझरना गाउँपालिका-९ सम्मको करिब आठ किमीमा कडा चट्टानी भाग रहेको भन्दै केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको उनले जानकारी दिए ।
तीस महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख धितालले जानकारी दिए । उनका अनुसार अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ ।
कूल रु २८ करोडको बजेटमा निर्माण हुने उक्त सडक रु २१ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष रु १४ करोड खर्च भएको छभने चालु आवमा रु पाँच करोडबाट काम भइरहेको उनको भनाइ छ । रासस
प्रतिक्रिया