आइतबार, वैशाख ७, २०८२

भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

नेपालखोज २०८२ वैशाख २ गते १०:१७

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।

वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए ।

किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताए । गत आर्थिक वर्षमा वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उनको भनाइ छ ।

‘वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्’, वडाध्यक्ष आचार्यले भने, ‘कतिपय किसानलाई सुन्तला तथा फलफूलखेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।’

केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरीसमेत स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताए । नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उनको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूलखेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उहाँले बताए ।

सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताए । किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया