बुधबार, वैशाख ३, २०८२

‘पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार’

नेपालखोज २०८२ वैशाख २ गते १३:०६

वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् ।

ट्रम्पले मस्को र किएभलाई युद्धविराममा सहमत हुन दबाब दिइरहनुभएको छ तर रुसी र अमेरिकी अधिकारीहरूबीच बारम्बार वार्ता भए पनि क्रेमलिनबाट कुनै ठूलो सहुलियत प्राप्त गर्न असफल भएका हुन् ।

शुक्रबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेट गरे । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि उनीहरूको यो तेस्रो बैठक थियो ।

सोमबार टेलिभिजनमा प्रसारण गरिएको फक्स न्युजको अन्तर्वार्तामा विटकेफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहरेका बताए ।

उनले रुस र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्झौताहरू पनि वार्ताको हिस्सा रहेको बताए । ‘मलाई लाग्छ केही धेरै आकर्षक व्यापारिक अवसरमार्फत रुसी–अमेरिकी सम्बन्धलाई पुनः आकार दिने सम्भावना छ, जसले यस क्षेत्रमा वास्तविक स्थिरता दिन्छ भन्ने मलाई लाग्छ’, उनले भने ।

कूटनीतिक उथलपुथलका बावजुद युक्रेन युद्धविराम प्राप्त गर्ने ट्रम्पको मुख्य उद्देश्यमा थोरै अर्थपूर्ण प्रगति भएको छ ।
पुटिनले गत महिना द्वन्द्वमा पूर्ण र बिना शर्त विरामका लागि अमेरिका–युक्रेनी संयुक्त प्रस्तावलाई अस्वीकार गरे भने क्रेमलिनले कृष्ण सागरमा युद्धविराम गरेको छ र पश्चिमले केही प्रतिबन्धहरू हटाएको छ । रासस/एएफपी

प्रतिक्रिया