चीनले भन्याे- अमेरिकासँग व्यापार युद्ध लड्न डराएको छैन

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ ।
यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।’
ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाउनुभएको थियो । हालै, वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा बृद्धि भएका छन् । यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशत कर लगाएका छन् ।
फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशतभन्दा बढी कर समावेश छन् । ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ ।
मङ्गलबार अमेरिकी राष्ट्रपतिले भने, ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,’ राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ ।
यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाले नै यो कर युद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउँनेछैन ।’ रासस/एएफपी
प्रतिक्रिया