पन्ध्र गोही राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा गोहीलाई राप्ती नदीमा छाडेको छ ।छोडिएका मध्ये दुई भाले र १३ वटा पोथी रहेका छन् ।
साउनयता योसहित पटकपटक गरी एक सय १८ वटा गोही राप्ती नदीमा छाडिएको छ । छाडिएकाहरूमध्ये तीन भाले र अन्य पोथी रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।
वन्यजन्तु सप्ताहको अवसर पारेर थप १५ वटा गोही राप्तीमा छोडीएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
उनका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन् । गत आर्थिक वर्षमा एक सय पाँचवटा गोही नदीमा छाडिएको थियो । नदी किनारबाट गोहीका अन्डा सङ्कलन गरेर प्रजनन् केन्द्रमा कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका बच्चालाई नदीमा छाड्ने गरिन्छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ७५ वटा गोही छाडिसकिएको बताउँदै मगरले ती गोही बच्ने दररेट भने निकै न्यून रहेको जानकारी दिए ।
उनका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणी एक सय १३ वटा गोही भेटिएका थिए । हाल प्रजनन् केन्द्रमा छ सय ८२ वटा गोही छन् ।
घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् ।
सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशतमात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ ।
नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायत कारण गोहीहरू प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए ।
नदीमा बाढी आउँदा गोही बगेर सीमापारि पुग्ने समस्या छ । हरेक वर्ष नदीमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा सङ्ख्या भने बढेको छैन । रासस
प्रतिक्रिया