४७औं इफाप्का सम्मेलनमा नेपालको अर्थपूर्ण सहभागिता

काठमाडौं । सिंगापुरमा भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औं सम्मेलनमा नेपालले अर्थपूर्ण सहभागिता जनाएको छ । सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतले सम्मेलनलाई सम्बोधन गर्दै सिंहले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिंचाई, उड्डयन क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बताए ।
पूर्व इफाप्का अध्यक्ष पनि रहेका महासंघ अध्यक्ष सिंहले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नु परिरहेको बताए ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको शिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै महासंघ अध्यक्ष सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको बताए ।
विश्वका अन्य विकासशील देशहरूले जस्तै नेपालको निर्माण उद्योगले पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेको तर्फ अध्यक्ष सिंहले विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराए ।
विगत केही महिना अघि देखि निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण पनि नेपालको निर्माण उद्योगमा प्रतिकूल असर देखिएको अध्यक्ष सिंहले जानकारी गराए ।
सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय दाताहरूसँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको भन्दै अध्यक्ष सिंहले निर्माण उद्योगका लागि प्रविधिमा लगानीमा विशेष जोड दिए । निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबीचको सहकार्य जरुरी भएको अध्यक्ष सिंहले बताए ।
निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औं इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो । सम्मेलनकै अवधिमा आयोजना गरिएका इफाप्का मातहतका विभिन्न समिति बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।
यसैबीच भव्य रुपमा ४६ औं इफाप्का सम्मेलन सम्पन्न गरेको भन्दै नेपाललाई सम्मान गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा तत्कालीन इफाप्का अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र तत्कालीन इफाप्का महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार विरेन्द्रराज पाण्डेलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
पाँचौ पटक इफाप्का सम्मेलनमा भाग लिए बापत नेपालका अनिल सिलवाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी नेपाली टोलीले छोटो अवधिमा सिंगापुर एवं मलेसियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिको स्थलगत अवलोकन पनि गरेको थियो । सम्मेलन २०८१ को चैत्र २५ बाट शुरु भई २९ गते सम्म चलेको थियो ।
प्रतिक्रिया